आदरणीय मित्रहरु,
एक ताउलो ढीडो ओडाल्न बसालेको छू यो अंगेनोमाथि . पाक्नै बाकी छ ....
मस्कने त झं कहिले हो कहिले ? यसो एक 'दाबिलो' चलाइदिनु भए ठुलो गुन मान्ने थिएँ .
एक हातमा
नेपाल-बन्दको डंडा
र अर्को हातमा
"जात" अभिमंत्रित झंडा बोकेर
म राज्यको खोजीमा निस्केको छू
विहानैदेखि...........
पहिले मेरा नेताहरूले
मलाई "वर्ग" भन्न सिकाए,
अहिले तिनै नेताहरु
मलाई "जात" भन्न सिकाउदैछन,
तराईको सम्म फाटमा पनि
कान्ला हुन्छन् भनेर बताउदैछन,
साच्ची अचेल उनीहरु
किन सत्य कुरो लुकाउदैछन ?
किन असत्यको बिस्कुन सुकाउदैछन ?
आमा सुम्निमा,
तिम्रो लास लुछ्ने
ती भालुका संतानहरु
फेरि बस्तीमै फर्केका हुन र ?
पारुहांगको मोहनी-पानी
र पोरोमियोम्फामीको आँसुले भिजेको माटोमा
सिस्नुको झांग मात्रै उम्रेको हो र ?
कुनै फेदांबा छैन अचेल
जसले मुन्धुम अनुसार बेथा खुट्याओस,
निखुनी झर्केथालमा अक्षताहरू फैलाएर
जोर-बिजोरको जोखाना हेरोस
अनि सिमे-भूमे र लागो पंछाउन
श्रद्धापूर्वक 'सेरेगेम' गरोस
पहेंला घामका किरणहरुलाई
उतरेर केराका पातमा
खोल्सा-खोल्सीमा
नझस्कन भनोस
निस्फिकरी खेलाउदै लिसो र पासो
यो सिंगै 'थान-मंदिर'मा आव्हान गरेर तिमीलाई
घूंरिंगका फूलहरुमा
एकताको मंत्र फलाक्दै
यो 'जागित्र' को बिनास गरोस ....
देवी युमासाम्मांग,
हाम्री श्रद्देय बूढीबजू !
तिमी आफैं भन त
बुढासुब्बाको समाधिमाथि नै
कित्ताकाटको धर्का तान्न थालेपछि,
पुर्खाको यो छालालाई नै
यज्ञको च्यातचुते कपड़ा बनाएपछि
हामी कहासम्म जाने उधौलीमा ?
स्वाभिमान
नदीजस्तै ओरालो बगेको
यो बैगुनी समयमा
पृथ्वीनारायणलाई मात्रै
पेटभरि गाली गर्दै
हामी कहासम्म फर्कने उभौलीमा ?
तेअंसी सिरिजंगाको कसम,
महर्षि फाल्गुनन्दको कसम,
यो सिंगो आँगन नै मासिएपछि
कसरी अटाउलान थकाली थाकखोलामा मात्र ?
काशीहांबाको कसम,
चसक्क छाती दुख्छ अचेल
कहाँ अटाउने होलान
यी चार-चौरास फैलिएका गुरुंगहरु ?
महारानी युमा,
म किरातेश्वरलाई ढोग्छु भने
त्यसमा अरुको आपत्ति किन ?
मैले एक महिना 'रोजा' बस्दा
बरु अन्नै जोगाएँ नि
अरुको आपत्ति किन ?
मेरे ढुकढुकीमा छन अवलोकितेश्वर
अरुको आपत्ति किन ?
मैले सिंगो 'घर' लाई नै
आफ्नो पनि 'घर' ठान्दा
अरुको आपत्ति किन ?
सत्य भन्छु,
कृतिम तरिकाले
उचाई थप्न रचित
यो होडबाजीलाई
म स्वीकार गर्न सक्तिन,
यो अस्वस्थ प्रतिस्पर्धालाई
म कुनै हालतमा पनि
स्वीकार्न सक्तिन,
हे यासोक्केनी,
आफ्नै दिदिको ज्यान लिने
तेंदोंग पहाडको यो उचाईलाई
म कुनै हालतमा पनि
सर्वोच्च मान्न सक्तिन,
यार्सागुम्बा टिपेर
लालाबाला पाल्न
मनांग पुगेका
केरौंजाबासीको कथा पनि हामीलाई थाहा छ,
ज्यान बेचेर लालाबाला पाल्दै
सिंहदरवारको पर्खाल उक्लिने
बदिनीदिदीको कथा पनि हामीलाई थाहा छ,
रामबहादुर स्वयंले
हरण गरेर साउदी पुरयाएकी
सीता नेपालीलाई सोध - हामी कस्ता छौं ?
आफ्नै पसिनाका सहस्र धाराले
मलेशियामा 'रामायण' लेखिरहेको
बुधन थारुलाई सोध - हामी कति अग्ला छौं ?
जबरजस्ती झंडा गाडेपछि एउटाले
आफ्नै माटोबाट उखेलिएका
शरणार्थीलाई सोध - हामी कति सग्ला छौं ?
गोजीमा माटो बोकेर पनि
मरुभुमिमा स्वर्ग बसाउने
इजरायालीलाई सोध - हामी कति बेग्ला छौं ?
नालापानीको इतिहास घोक्दै
कालापानी बुझाउने हामी,
जनकपुरको आरती उतार्दै
टनकपुर बुझाउने हामी,
सगरमाथाको गौरव सुनाउदै
गणेश हिमाल गुमाउने हामी,
मित्रताको मुस्कानसंगै
पालुंग-री चढाउने हामी,
अचेल देश खोज्न थालेका छौं .......
खै, कस्तो क्रूर ठट्टा हो यो आफैंप्रति
भएको देशलाई दुत्कारेर
नभएको 'राज्य' खोज्न थालेका छौं हामी......
त्यसै त यो एउटा सानो 'दांते-ओखर'
त्यहींमाथि हामी आफैंले
'एकता'को बोक्रो फुटाई दियौं भने,
'सुरक्षा'को घेरो चर्काई दियौं भने,
कतिन्जेल सुरक्षित रहन्छ कुन्नि यो
यी बड़ेमानका 'बंगारा' हरुका बीचमा....
सोच्छु, कति कुरूप छ - यो झंडा पछाडिको राजनीति,
सोच्छु, कति बिषालू छ - यो यदु-वंशी प्रबृत्ति,
देश 'बंद' गरेर आफ्नो 'मुख' खोल्नेहरू,
बाटो 'बंद' गरेर बैंकमा 'खाता' खोल्नेहरू,
भाई मारेर आफ्नै हातले
भतिजाको सम्पति सोहोर्नेहरू
कति क्रूर छ हाम्रो नियति......
अनि 'केचना' देखि 'चोमोलुंग्मा'
हिमालसंगै बिउझने नदी,
र त्यसको नागबेली बगर,
सुन फल्ने खेत,
र जीवन-दायिनी जलराशि ,
मुस्कान सुबासित ओठ
र आशालू दृष्टिहरू
सबैतिर सिर्जनै सिर्जना र
सबै सबै नै कर्मी नागरिकहरु,
आहा, कति सम्पन्न छ हाम्रो प्रकृति !
कति महान छ हाम्रो संस्कृति !!
यस्तो ठाउमा जन्मेर पनि,
रगतमै यी गुण पाएर पनि,
देशकै 'छानो' पाएर पनि,
देशकै 'मानो' खाएर पनि,
अचेल के भएको छ मलाई
र मात्रिभूमिको 'वन्दना' लेख्दिन ?
आमा,
साच्चै, अचेल म किन
सिंगो "नेपाल" को सपनै देख्दिन ?
एक हातमा
नेपाल-बन्दको डंडा
र अर्को हातमा
"जात" अभिमंत्रित झंडा बोकेर
म आफ्नै देश मासेर
'राज्य' को खोजीमा निस्केको छू
विहानैदेखि...........
No comments:
Post a Comment