Friday, November 11, 2011

सुरक्षाकर्मीहरुलाई हाम्रो भन्नु


तिमी आफू डाक्टर हुन सकेनौ
त्यसैले डाक्टरहरुलाई कुट,
वकील हुन सकेनौ
वकीलहरुलाई पिट,
प्रोफेसर÷विद्वान केही हुन सकेनौ
र उनीहरुलाई लछार÷पछार गर,
देशै आन्दोलित किन भैरहेछ ?
त्यसको अर्थ बुझिरहनु पर्दैन
पत्रकारहरुलाई प्रहार गर ... ... ...


जसले तिमीलाई ‘गधा’ भन्छ
र रासनमा कमिशन खान्छ,
जसले तिमीलाई अपशब्द बोल्छ
र शान्ति सेनाको आधा भन्दा बढी तलव
आफ्नै श्रीमतीसंघतिर तान्छ
त्यसलाई बुट बजारेर सलाम गर
र जसले तिमीलाई ‘भाइ’ भन्छ
र सधैं तिम्रो भलो चाहन्छ
त्यही आन्दोलनकारीलाई प्रहार गर ...

आफूलाई बचाउने
विद्यार्थीलाई संहार गर,
तिमी मारिंदा घर धानिदिने
र तिम्री श्रीमतीलाई सान्त्वना दिने
छिमेकीलाई प्रहार गर,
कुट, पिट, भकुर र लाठो बजार
गोली चलाउ, अश्रुग्यास बर्साउ
र आफ्नै शुभचिन्तकलाई मार्देै जाऊ
र यसरी मारेर विचार मर्छ कि मर्दैन
त्यो पनि आँखा खोलेर हेर्दै जाऊ ...

जुन माओवादीले तिम्रो निंद हराम भएको छ
त्यसैलाई शान्ति वार्तामा ल्याउछु भन्नेलाई कुट,
तिम्रो दिर्घायुको कामना गर्नेहरुलाई चुट,
जसले तिरेको करबाट
तिमीले तलव खाइरहेछौ
त्यसैलाई रगतपच्छे पारेर सडकमा पछार,
जति गर्न सक्छौ गर
र आफ्नो मालिकलाई खुशी पार,
आफ्नो मार्कोसको पूजा गर
आफ्नो फुजिमोरीको अर्चना गर
घाइतेमाथि दर्जनौ लाठी बजारेर
आफ्नो इदि अमिनलाई खुशी पार,
मान्छेको बली दिएर पुतलालाई बचाउदै
आफ्नो बोकासाको रक्षा गर...........

यति कुबुद्धि छोरो जन्मेकोमा
तिम्रै बाबु आमालाई पछुतो छ
त्यसैले मैले भन्नु केही छैन,
आफ्नो दशधारा दूध
यति क्रुर मान्छेले चुसेकोमा
तिम्रै आमालाई पछुतो छ
त्यसैले हामीले केही भन्नु छैन ....

तिम्रै जस्तो जागीर हामीले पनि खाएका छौं
तर हेर, हामी आन्दोलनमै उभिएका छौं,
हामी देश लुट्नेका विरुद्धमा
र हाम्रो तलबका लागि कर तिर्नेको पक्षमा छौं,
हामी हतियारको कमिशनका लागि
युद्ध लम्ब्याउनेको विरुद्धमा
र शान्ति बहाली हुनुपर्छ भन्नेका पक्षमा छौं,
तिम्रो मालिकलाई मन परोस् कि नपरोस्
हामी त्यस ज्यानमाराका विरुद्धमा
र लोकतन्त्रको पक्षमा छौं .........

भाइ, अझै पनि समय छ — सोच,
मिल्काउ तिम्रा लाठी र बन्दुक सडकमै
र आउ हातेमालो गर्न हामीसितै
हामी सदा तिम्रो सम्मानको पक्षमा छौैं
हामी लोकतन्त्रको पक्षमा छौं ...
अब मंजुर छैन हामीलाई
सदा सदा टाउकोमाथि
यो चिसो ढुंगाको भारी बोक्न
हामी गणतन्त्रको पक्षमा छौं ...

(दोस्रो जनआन्दोलन २०६२ ६३ को क्रममा भएको बर्बर दमनका बिरुद्धमा लेखिएको कबिता )

No comments:

Post a Comment