Friday, November 11, 2011

जीतको प्रश्न


यसपाली त तराईमा
धान बेच्दा पनि
खेती लगाउँदाको दाम उठेनछ,
यसपाली त कर्णालीमा
ज्यानै जोखिममा हाल्दा पनि
पेटभरिको माम जुटेनछ,

देशैभरि दबाइए
हाम्रा दिदी र वहिनीहरु
तर उनीहरुको संरक्षणमा
सदनमा कुनै कानून उठेनछ,
कठै, यसपाली त हिमालतिर
साठी प्रतिशत मतदान भएर पनि
सिस्नोमा हाल्ने
नुन समेत जुटेनछ ..................

अचेल किन हो कुन्नि सबैजना
अन्नको कुरा छाडेर
पानीको कुरा गर्छन्
अचेल सवैजना
इमानको कुरा छाडेर
एअरपोर्टको सुनखानीको कुरा गर्छन्
समयले साथ पनि दिएकै हो,
देश ‘मुसारहित’ पनि भएकै हो,
सिंहदरवारका खसी बोकाहरुले
पाउनुसम्मको दण्ड पनि पाएकै हो
अभ्यास पनि भएकै हो
भोट पनि खसेकै हो
तैपनि रामप्यारीको ओठमा
मुस्कान खुल्दै खुलेनछ,
सिन्दुर पुछिएका सिउँदाहरुमा
कतै सहारा झुलेनछ,
क्रान्तिमै होमिएथ्यो मानवहादुर
तर आँगनमा प्रजातन्त्र फुलेनछ.....................

यो जीत हाम्रै हो
तर हाम्रै हुन सकेनछ,
मत प्रशस्त खसेपनि
मन कतै बसेनछ
भित्र भित्र त प्रजातन्त्र दुख्छ दुख्छ
वाहिर समेत अझै खाटा बसेनछ ........


No comments:

Post a Comment